काठमाडौं, असोज ९ — जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष टी–२० क्रिकेटमा नेपालले अफगानिस्तानमाथि शानदार जित निकालेको छ। नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै समूह ‘ए’मा महत्वपूर्ण दुई अंक जोडेको हो।
निसिनमा शुक्रबार भएको खेलमा अफगानिस्तानले दिएको १०३ रनको सामान्य लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा सन्दीप जोराले महत्वपूर्ण योगदान दिए। उनले ३५ बलमा ३ चौका र १ छक्कासहित ३४ रन बनाए। कप्तान रोहित पौडेलले संयमित ब्याटिङ गर्दै ३२ बलमा ४ चौकासहित अविजित ३३ रन बनाएर टोलीलाई जितसम्म पुर्याए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानलाई नेपाली बलरले सुरुदेखि नै दबाबमा राखेका थिए। निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै अफगानिस्तानले १०२ रन मात्र बनाउन सक्यो।
नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए। ललित राजवंशीले पनि प्रभावशाली प्रदर्शन गर्दै ३ विकेट लिएपछि अफगानिस्तान ठूलो स्कोर बनाउन असफल भयो।
लक्ष्य पछ्याउने क्रममा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए। कुशल मल्ल ९ रनमा आउट भए भने गुल्शन झा १ रनमा अविजित रहे। ओपनर कुशल भुर्तेल र आसिफ शेख भने क्रमशः शून्य र २ रनमा पवेलियन फर्किए।
१२ वर्षपछि दोहोरियो जितको इतिहास
अफगानिस्तानमाथिको यो जित नेपालका लागि विशेष बनेको छ। नेपालले यसअघि सन् २०१४ को टी–२० विश्वकपमा अफगानिस्तानलाई पराजित गरेको थियो।
त्यसपछि पहिलोपटक टी–२० अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा आमनेसामने भएका यी दुई टोलीबीच १२ वर्षपछि भएको खेलमा पनि नेपाल नै विजयी भयो। यससँगै नेपालले २०१४ को विश्वकपमा बनाएको जितको इतिहास एसियाली खेलकुदको टी–२० क्रिकेटमा पनि दोहोर्याएको छ।
अब नेपालले शनिबार आयोजक जापानसँग समूह चरणको अन्तिम खेल खेल्नेछ। उक्त खेलमा नेपाल विजयी भए समूह ‘ए’को विजेता बन्नेछ। यस खेलको नतिजापछि अफगानिस्तानले पनि क्वार्टरफाइनलमा स्थान बनाउने अवस्था बनेको छ। नेपाल ठूलो अन्तरले पराजित भए मात्र रनरेटका आधारमा समीकरणमा परिवर्तन आउन सक्नेछ।
