आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?

0

निःसन्तान दम्पतीका लागि ‘बरदान’ भनिंदै आइएको छ, आईभीएफ (कृत्रिम गर्भाधान) प्रविधिलाई । हुनपनि कति दम्पतीलाई यसले सन्तान सुख दिलाएको छ । यद्यपि यस विधिमाथि पनि कतिपय संशय भने बाँकी नै छ ।

यसमध्ये एउटा संशय हो, के आईभीएफ विधिबाट जन्मिएका शिशुको स्वास्थ्य प्राकृतिक ढंगले जन्मिएको शिशुको जस्तै तगडा हुन्छ ? शारीरिक र मानसिक रुपमा उनीहरु तन्दुरुस्त हुन्छन् ?

के हो आईभीएफ र प्राकृतिक गर्भधारण ?

आईभीएफ र प्राकृतिक गर्भधारण दुवैको प्रक्रियामा पुरुषको शुक्रकीट र महिलाको डिम्ब निषेचन गराइन्छ । प्राकृतिक प्रक्रियामा शारीरिक सम्बन्ध भएपछि शुक्रकीट र डिम्बको मिलन डिम्बवाहिनी नलीमा हुने गर्छ । जबकि आईभीएफ अर्थात् इन-भिट्रो फर्टिलाइजेसनमा कृत्रिम तरिकाले निषेचन गरिन्छ । निषेचन प्रक्रिया एक विशेष किसिमको प्रयोगशालामा हुने गर्छ । जसमा महिलाको डिम्ब र पुरुषको शुक्रकीटको निषेचन गरेर भ्रूणको विकास गरिन्छ ।

प्राकृतिक गर्भाधानमा डिम्बवाहिनी नलीमा निषेचन भएको भ्रूण प्राकृतिक रुपमा पाठेघरमा गएर बस्छ । अर्कोतर्फ, प्रयोगशालामा तयार पारेको निषेचित डिम्बलाई कृत्रिम रूपमा विशेष खालको पाइप (क्याथेटर)बाट पाठेघरमा राख्ने गरिन्छ । त्यसपछि निषेचित डिम्बबाट भ्रूणको वृद्धि विकास हुन्छ भने शिशु जन्माउने प्रक्रिया प्राकृतिक प्रक्रिया जस्तै हुन्छ ।

जोखिम कति हुन्छ ?

यत्तिकै बच्चा हेरेर प्राकृतिक रुपमा गर्भधारण गरेर जन्मिएको बच्चा हो वा आईभीएफ प्रक्रियाबाट जन्माएको बच्चा छुट्याउन असम्भव हुन्छ, थाहा पाउन सकिंदैन । तर पनि आईभीएफ प्रक्रियाबाट जन्माएको बच्चा उच्च जोखिममा हुन्छ । जस्तै बच्चा महिना नपुग्दै जन्मिने, कम तौलको जन्मिने र कहिलेकाहीं कम तौल भएकै कारण शिशुको मृत्यु समेत हुनसक्ने सम्भावना हुन्छ ।

आईभीएफका बच्चामा जन्मजात न्युरोलोजिकल विकार अर्थात् दिमाग र नसाको समस्या हुनसक्छ । साथै बच्चाहरुमा शारीरिक र मानसिक वृद्धि विकासमा समस्या, अपांगता हुने, अटिज्म तथा अन्य मानसिक समस्याको जोखिम हुन्छ ।

अनुसन्धानले के भन्छ ?

आईभीएफबाट गर्भाधारण गरेका गर्भवती महिला र शिशुको स्वास्थ्य अवस्था अत्याधिक जोखिमपूर्ण हुन्छ । यसो भन्दैमा प्राकृतिक रुपमा जन्मिने बच्चामा जोखिम नै नहुने होइन । प्राकृतिक रुपमा गर्भाधारण गरेर जन्माएको शिशुमा पनि स्वास्थ्य समस्या हुनसक्छ ।

विभिन्न अनुसन्धानले आईभीएफ प्रक्रियाबाट जन्माइने शिशुमा स्वास्थ्यको समस्या वा जोखिमपूर्ण हुनुमा आमाबुवाको प्रजनन् क्षमता र उमेर हुनसक्ने अनुमान गरिएको छ ।

यसबाहेक विशेषज्ञका अनुसार आईभीएफमा गर्भधारण गराउँदा एकभन्दा बढी निषेचित डिम्ब पाठेघरमा राख्ने गरिन्छ । जसकारण आईभीएफमा जुम्ल्याहा बच्चा जन्मिने सम्भावना बढी हुन्छ । जसकारण बच्चाको स्वास्थ्य समस्या हुने खतरा बढी हुन्छ ।

You might also like
Leave A Reply

Your email address will not be published.