खासमा कोइरालाले के भनेका थिए ? चउरमा परीक्षा र घर पठाउने धम्की, शिक्षा दिवसकै मञ्चमा शिक्षकको अपमान [भिडियो सहित]

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीका जिसस प्रमुख जीवनारायण कोइरालाले शिक्षा दिवसको कार्यक्रममा शिक्षकलाई चउरमा राखेर परीक्षा लिने र असफल भए घर पठाउने भनी अपमानजनक अभिव्यक्ति दिएका छन्।
  • आफ्नो अभिव्यक्ति विवादमा परेपछि कोइरालाले विज्ञप्तिमार्फत क्षमा मागेका छन् तर शिक्षकहरुले यसलाई सामान्य रूपमा नलिई सार्वजनिक संवादको माग गरेका छन्।
  • शिक्षकहरुले राजनीतिक भर्तीको आरोप र अपमानजनक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यसको नैतिक र कानुनी आधारमाथि प्रश्न उठाएका छन्।

सन्धिखर्क, अर्घाखाँची – आदरणीय सम्पूर्ण शिक्षक मित्रहरू भनेर सम्बोधन गरिएको क्षमायाचना पत्रको पछाडि लुकेको यथार्थ के हो ? जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले शिक्षा दिवस २०८२ असोज २ गतेको कार्यक्रममा बोलेको भिडियो प्राप्त भएको छ।

भिडियोले विज्ञप्तीमा भनिएको “भावनामा ठेस पुग्ने गरी राखिएको छोटो अंश” भन्ने दाबीभन्दा फरक, उहाँले नै मञ्चबाटै शिक्षकहरुलाई लक्षित गर्दै आक्रामक शैलीमा बोलेको देखाउँछ।

भिडियोमा कोइराला उभिएर, पटक-पटक शिक्षकहरुतर्फ औंला सोझ्याउँदै, हात हल्लाउँदै बोलेको देखिन्छ। शिक्षा दिवसको शुभकामना कार्यक्रममा सम्मानित भएर बस्नुपर्ने शिक्षकहरुको अगाडि उहाँको यो शैली आफैंमा अपमानजनक रहेको शिक्षकहरुको गुनासो छ।

विवादको मूल – उहाँकै मुखबाट, उहाँकै पत्रमा

विवाद चर्किएपछि मिति २०८३ साल ०६ गते ०३ मा कोइरालाले निकालेको विज्ञप्तीमा आफूले के बोलेको थिएँ भन्ने कुरा आफैंले खुलाउनुभएको छ। यो नै यस प्रकरणको सबैभन्दा ठूलो प्रमाण हो।

उहाँको पत्रमा लेखिएको छ:

“विगतमा हामी आफैंले ‘हाम्रो राम्रो’ भन्नुपर्नेमा ‘मेरो मात्र राम्रो भन्दै जसरी पनि ‘मेरो मान्छे हुनुपर्छ, भएन भने देख्लास्’ भनेर भर्ती गरिएको एउटा जनशक्ति छ, जसलाई तालिमप्राप्त, सक्षम र अहिलेको गतिमा दौडिन सक्ने गरी स्तरबृद्धि गर्न सकिरहेका छैनौं। त्यस्ता साथीहरूलाई नियम-कानुनले दिन्छ भने चउरमा बसालेर परीक्षा लिऔं, पास हुनेलाई पूरै स्केल दिएर काममा लगाऔं र पास हुन नसकेलाई ससम्मान घर पठाऔं। त्यो आँट हामीले गर्दा मात्र शिक्षामा गुणस्तर प्राप्त गर्न सकिन्छ भनेको हुँ।”

शिक्षा दिवसको दिन, शिक्षकहरुकै अगाडि “चउरमा बसालेर परीक्षा लिने र घर पठाउने” जस्तो प्रस्ताव राख्नु नै अपमानको जड बनेको छ।

पत्रमा के छ ?

आफ्नो भनाइको सानो अंश मात्र काटेर भाइरल बनाइएको भन्दै कोइरालाले पत्रकार साथीसँग कुराकानी समेत गरेको उल्लेख गर्नुभएको छ।

पत्रमा उहाँले – शिक्षक सेवा आयोग पास गरी स्थायी सेवामा रहनुभएका, आवश्यक मापदण्ड पूरा गरी राहत, अस्थायी, करारमा अध्यापन गरिरहनुभएका तपाईँ शिक्षकहरुको अपमान गर्ने, चित्त दुखाउने, होच्याउने वा सम्मानमा ठेस पुर्‍याउने कुनै उद्देश्य होइन, बरु म त आदरणीय गुरुहरुको सधैं प्रशंसा र सम्मान गर्ने पात्र हुँ भन्ने मान्दछु, भन्नुभएको छ।

साथै विद्यार्थी संख्या घट्नु, विद्यालय रित्तिँदै जानु, अथक मेहनतका बाबजुद गुणस्तर प्राप्त हुन नसक्नु, दरबन्दी मिलान र विद्यालय गाभ्ने काम हुन नसक्नु र ‘जहाँ विद्यार्थी, त्यहाँ शिक्षक’ बनाउने कार्यमा आनाकानी हुनु जस्ता ज्वलन्त मुद्दा उठाउन खोजेको उहाँको जिकिर छ।

अन्त्यमा, “निरन्तर रुपमा आफ्नो विद्यालय र विद्यार्थीलाई कसरी अब्बल सक्षम बनाउने भनेर कडा मेहनत गरिरहनुभएका तपाईं सम्पूर्ण शिक्षकहरुको अपमान गर्ने वा चित्त दुखाउने मेरो कुनै उद्देश्य थिएन, छैन र भविष्यमा पनि हुने छैन” भन्दै क्षमा माग्नुभएको छ र आत्मसम्मानमा ठेस पुगेको महसुस भएकोमा दुःखी भएको बताउनुभएको छ।

तर प्रश्न बाँकी नै छ

१. सम्मान दिनुपर्ने दिन, सम्मानकै मञ्चबाट “घर पठाउने” भाषा प्रयोग गर्नु कति जायज ?

२. “मेरो मान्छे” भर्ती गरेको भन्ने गम्भीर आरोपको तथ्य के हो ? अर्घाखाँचीमा राजनीतिक आस्थाका आधारमा नियुक्त भएका शिक्षक को-को हुन् ? यसको जवाफ दिने निकाय शिक्षा विकास तथा समन्वय इकाई र स्थानीय तह हुन् कि जिसस प्रमुख ?

३. शिक्षकलाई चउरमा परीक्षा लिने अधिकार कानुनले कसलाई दिएको छ ?

शिक्षक महासंघ अर्घाखाँचीले विज्ञप्तीले मात्रै घाउ निको नहुने भन्दै सार्वजनिक रुपमै शिक्षकहरुसँग बसेर संवाद गर्नुपर्ने माग राखेको छ।

भिडियो: शिक्षा दिवसको कार्यक्रममा बोल्दै जिसस प्रमुख कोइराला।
तस्बिर: मिति २०८३।०६।०३ मा जारी क्षमायाचना पत्र।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ताजा

Our Facebook

Cover Photo
Profile Picture

Arghakhanchi News

59K followers • 317 following

Your News Your Choise

Category: News

छुटाउनुभयो कि ?