
- सन्धिखर्कमा आयोजित समीक्षा बैठकमा सांसद हरिप्रसाद भुसालले सरकारी सेवा प्रवाह सुधार गर्न कमजोरीको निर्मम समीक्षा गर्नुपर्ने बताए।
- उनले नागरिकले राजनीतिक पहिचानका आधारमा होइन, कानुनअनुसार सहज सेवा पाउनुपर्नेमा जोड दिए।
- कर्मचारीहरूलाई राजनीतिक दबाबमुक्त भएर इमानदारीपूर्वक काम गर्न आग्रह गर्दै उनले गलत काममा राज्य निर्मम हुने स्पष्ट पारे।
सन्धिखर्क । जिल्ला समन्वय समिति अर्घाखाँचीको आयोजनामा बिहीबारदेखि सन्धिखर्कमा सुरु भएको जिल्ला स्तरीय समीक्षा बैठकमा प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसालले सरकारी सेवा प्रवाह, प्रशासनिक स्वच्छता र जनप्रतिनिधि–कर्मचारी सम्बन्धबारे स्पष्ट धारणा राखेका छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, मन्त्री रामजी घिमिरेलगायतको उपस्थितिमा भएको कार्यक्रममा भुसालले समीक्षा बैठकलाई उपलब्धि सुनाउने कार्यक्रममा मात्र सीमित नगरी कमजोरी कहाँ भयो, किन भयो र अब कसरी सुधार गर्ने भन्ने विषयमा समेत निर्मम समीक्षा गर्नुपर्ने बताए।
“समीक्षा भनेको सफलताको उत्सव मात्र होइन, कमजोरी स्वीकार गरेर सुधारको बाटो तय गर्ने ठाउँ पनि हो,” उनले भने। समय र नागरिकको अपेक्षा बदलिएको भन्दै उनले कार्यालयमा आउने नागरिकले “कसलाई चिन्छु?” होइन, “मेरो काम हुन्छ कि हुँदैन?” भन्ने अवस्था महसुस गर्नुपर्ने बताए। कानुनसम्मत काममा आफूले सहयोग गर्ने तर कानुनविपरीत काम गराउन आफूले समेत दबाब नदिने उनको भनाइ थियो।
भुसालले सरकारी काममा पारदर्शिता र स्वच्छतामा कुनै सम्झौता नगर्न कार्यालय प्रमुखहरूलाई आग्रह गरे। “मौका नपाउँदा इमानदार देखिनु ठूलो कुरा होइन, मौका पाउँदा पनि नलुट्नु र नठग्नु नै वास्तविक इमानदारी हो,” उनले भने।
राजनीतिक प्रभावबाट मुक्त भएर कानुनअनुसार काम गर्न कर्मचारीलाई आग्रह गर्दै उनले आफ्नो तर्फबाट समेत यस्तो प्रतिबद्धता जनाए— “मेरो पार्टीगत वा व्यक्तिगत कामका लागि म तपाईंहरूसँग टिकट माग्दिनँ, तेलको कुपन माग्दिनँ, सरकारी गाडी माग्दिनँ। कानुनले नदिएको सुविधा कसैले मागे पनि नदिनुस्—त्यो माग्ने व्यक्ति म भए पनि नदिनुस्।”
कानुनसम्मत काम गर्दा कुनै राजनीतिक वा सामाजिक दबाबसँग नडराउन आग्रह गर्दै भुसालले “गलत काममा राज्य निर्मम हुन्छ” भन्ने स्पष्ट सन्देश दिए। उनले जनप्रतिनिधि र कर्मचारीबीच ‘मेरो मान्छे–तिम्रो मान्छे’ भन्दा ‘कानुन र नागरिक’लाई केन्द्रमा राख्ने संस्कार विकास गर्नुपर्ने बताए। “नागरिकले सिंहदरबार देख्दैनन्, जिल्लाको सरकारी कार्यालय देख्छन्। त्यसैले तपाईंहरूको व्यवहारमा राज्य देखिन्छ,” भुसालले भने।
उनले अन्ततः सरकार र कार्यालयको सफलता कति फाइल चले भन्नेमा नभई कति नागरिकको जीवन सहज बन्यो भन्नेमा मापन हुनुपर्ने बताए। कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले भने आफ्नो मन्तव्यको अधिकांश समय संघीय सरकारको कामकारबाहीको आलोचना र प्रदेशका समस्यातर्फ केन्द्रित गरेका थिए।
