
- भदौको बाढीले रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ।
- करिब १ खर्ब ३४ अर्बभन्दा बढीको क्षतिबाट ७८३ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ।
- क्षतिग्रस्त आयोजनाको पुनःनिर्माण, ऋण व्यवस्थापन र भविष्यको जोखिम न्यूनीकरण ठूलो चुनौती बनेको छ।
४ असोज, काठमाडौं । १० भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनालाई क्षतविक्षत बनाएको छ ।
कतिपय आयोजनाका बाँध, हेडवर्क्स, पावरहाउस, पहुँचमार्ग र प्रसारण संरचना बगेका छन् भने कतिपय आयोजनाको उत्पादन प्रसारण लाइनमा पुगेको क्षतिका कारण रोकिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रारम्भिक विवरण अनुसार रसुवा र नुवाकोटमा रहेका १४ वटा जलविद्युत् आयोजनामा प्रत्यक्ष क्षति पुगेको छ । तीमध्ये ६ वटा निर्माणाधीन र ८ वटा सञ्चालनमा रहेका आयोजना छन् ।
नेपाल विद्युत् प्राधिकरण तथा त्यसका सहायक कम्पनीका ७ र निजी क्षेत्रका ७ आयोजना प्रभावित छन् । यी आयोजनामा मात्रै ७८३.३९ मेगावाट विद्युत् प्रभावित भएको छ । क्षतिको प्रारम्भिक अनुमान १ खर्ब ३४ अर्ब ६९ करोड ७६ लाख रुपैयाँ बराबर छ । मन्त्रालयले यो रकम अझै बढ्न सक्ने जनाएको छ ।
सरकारको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडीएनए) ले ऊर्जा क्षेत्रको पुनर्निर्माणका लागि ३ खर्ब ९० अर्ब रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरेको छ । तर, अहिलेको मुख्य प्रश्न क्षति कति भयो भन्नेमात्र होइन । यी आयोजना फेरि कसरी उठ्छन्, कति वर्ष लाग्छ, पैसा कहाँबाट आउँछ, बैंक ऋण कसरी तिर्ने, बीमा रकमले कति धान्छ र फेरि त्यही ठाउँमा आयोजना बनाउँदा अर्को बाढीको जोखिम कसरी घटाउने भन्ने हुन् । यिनै प्रश्नले अहिले जलविद्युत् क्षेत्रलाई घेरेको छ ।
