
- लगातारको वर्षाका कारण धादिङको पृथ्वी राजमार्गमा ठाउँ ठाउँमा पहिरो गएको छ।
- कृष्णभीर र तिगराङ खोलामा सडक दुवैतर्फ पूर्णरूपमा अवरुद्ध भएको छ।
- प्रहरीले यात्रुहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ।
काठमाडौं । लगातारको वर्षाका कारण धादिङस्थित पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा यातायात प्रभावित भएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार राजमार्गको कृष्णभीर, परेवाभीर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभीर क्षेत्रमा पहिरो गएको छ।
तीमध्ये कृष्णभीर र तिगराङ खोलामा सडक दुवैतर्फ पूर्णरूपमा अवरुद्ध भएको छ। अन्य पाँच स्थानमा भने एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
कृष्णभीरमा पहिरो पन्छाउन दुईवटा उपकरण परिचालन गरिएको छ। तर लगातार पानी परिरहेको र माथिबाट पहिरो खस्ने क्रम नरोकिएकाले सडक खुलाउन कठिनाइ भइरहेको प्रहरीको भनाइ छ।
यसअघि पनि वर्षाजन्य विपद्का कारण कृष्णभीर क्षेत्रमा पृथ्वी राजमार्ग पटक–पटक प्रभावित हुँदै आएको छ। भदौमा आएको बाढीका कारण सडक कटान भएपछि लामो समय अवरुद्ध भएको राजमार्ग अस्थायी डाइभर्सन निर्माण गरेर पुनः सञ्चालनमा ल्याइएको थियो।
अहिले पनि वर्षा जारी रहेकाले राजमार्गका अन्य जोखिमयुक्त क्षेत्रमा थप पहिरो खस्न सक्ने अवस्था रहेको प्रहरीले जनाएको छ। यात्रु तथा सवारी चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।
