संसदमा उठ्यो प्रहरी सुरक्षाको विषय : जीर्ण भवन र पुराना मोटरसाइकलप्रति सांसद भुसालको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा अर्घाखाँचीका प्रहरी चौकीहरूको जीर्ण अवस्था र प्रहरीको कमजोर सवारी साधनका कारण सुरक्षाकर्मीले भोगिरहेको समस्याको विषय उठेको छ।

प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसालले शून्य समयमा बोल्दै जनताको सुरक्षामा अग्रपंक्तिमा खटिने प्रहरी आफैं असुरक्षित भवनमा बसेर सेवा दिनुपर्ने अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

भुसालले गत महिना अर्घाखाँचीका विभिन्न प्रहरी चौकीहरूको स्थलगत अवलोकनका क्रममा आफूले गम्भीर अवस्था देखेको बताए। उनका अनुसार इलाका प्रहरी कार्यालय सिद्धारादेखि प्रहरी चौकी सिमलपानी, खिल्जी र जुकेनासहित जिल्लाका अधिकांश प्रहरी चौकीका भवन जीर्ण अवस्थामा छन्।

“कतिपय भवन टेको लगाएर अड्याइएका छन्, कतिपयमा वर्षायाममा प्रहरीसमेत ढुक्क भएर सुत्न सक्दैनन्,” भुसालले भने, “चुहिने छानोमुनि बिस्तारा सार्दै–सार्दै सुत्नुपर्ने अवस्था हाम्रा नौजवान सुरक्षाकर्मीको छ।”

प्रहरी चौकीको भवन कार्यालय मात्र नभई चौबीसै घण्टा सुरक्षा सेवा प्रवाह गर्ने महत्वपूर्ण स्थान भएको उल्लेख गर्दै उनले यस्तो असुरक्षित संरचनाबाट प्रहरीलाई प्रभावकारी रूपमा काम गर्न कठिन हुने बताए।

भुसालले प्रहरीको तत्काल प्रतिकार्य (रेस्पोन्स) क्षमता कमजोर बनाउने अर्को समस्या पुराना र जीर्ण मोटरसाइकल रहेको पनि सदनमा उठाए। गाउँका प्रहरी चौकीमा एक–एकवटा मोटरसाइकल भए पनि ती अत्यन्त पुराना र जीर्ण हुँदा घटना भएको सूचना पाएपछि तत्काल घटनास्थलमा पुग्न समस्या हुने उनको भनाइ थियो।

“घटना भयो, सूचना आयो, तत्काल घटनास्थलमा पुग्नुपर्ने प्रहरीलाई मोटरसाइकलले बोक्नुपर्ने अवस्था छ,” भुसालले व्यंग्यात्मक शैलीमा भने।

उनले जनताको सुरक्षाका लागि प्रहरीलाई अग्रपंक्तिमा खटाउने सरकारले प्रहरीको आफ्नै सुरक्षा, सुरक्षित कार्यस्थल र भरपर्दो सवारी साधनलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए।

भुसालले अर्घाखाँचीका जीर्ण प्रहरी चौकीहरूको तत्काल प्राविधिक मूल्याङ्कन गरी जोखिमयुक्त भवनको पुनर्निर्माण तथा मर्मतको व्यवस्था गर्न र पुराना प्रहरी मोटरसाइकल विस्थापन गरी आवश्यकताअनुसार नयाँ सवारी साधन उपलब्ध गराउन सरकारसँग माग गरे।

“जनताको सुरक्षामा खटिने प्रहरीलाई असुरक्षित राखेर सुरक्षित समाज निर्माण गर्न सकिँदैन,” भुसालले सदनमा भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ताजा

Our Facebook

Cover Photo
Profile Picture

Arghakhanchi News

59K followers • 317 following

Your News Your Choise

Category: News

छुटाउनुभयो कि ?