हरेक वर्ष नेपालीले ९३ किलो खाना खेर फाल्छ

0

कृषि अर्थविज्ञ डा. देवेन्द्र गौनले बर्सेनि एक व्यक्तिले घरबाट, फूड सर्भिस, खुद्रा लगायत क्षेत्रबाट उपभोग गर्ने खाना औसतमा ९३ किलो खेर फाल्ने गरेको बताए ।

‘अन्तर्राष्ट्रियस्तरको एउटा अध्ययनले एक व्यक्तिले बर्सेनि ९३ किलो खाना खेर फाल्ने गरेको देखाएको छ,’ उनले भने, ‘विश्वव्यापी रूपमा बर्सेनि औसतमा १३ प्रतिशत खाना खेर फालिन्छ भने १७ प्रतिशत नोक्सान हुन्छ ।’

डा.गौनले नेपालमा कुल उत्पादन हुने कृषि उपजमध्ये ३० देखि ४० प्रतिशत नोक्सान हुने बताए । ‘कृषि उपजमा ३० देखि ४० प्रतिशत नोक्सान हुनु भनेको किसानको मेहनत नोक्सान हुनका साथै फुड न्युट्रिशन, उत्पादनमा गरेको लगानी पनि नोक्सान हुने भयो,’ उनले भने, ‘यसले जलवायु परिवर्तनमा पनि असर पुर्‍याउँछ, खेर गएको खानाले ८ देखि १० प्रतिशत ग्रीन हाउस ग्यास उत्पादन गर्छ ।’

नेपालमा कृषि उपज भित्र्याउनदेखि बजार पुर्‍याउँदासम्म नोक्सान भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले बताए । ‘बाली काट्नेदेखि लिएर, प्याकेजिङको कुरा गर्ने हो भने राम्रो बनाउन सकेका छैनौँ,’ उनले भने, ‘रोड नेटवर्क हे¥यो भने एकदम कमजोर छ । बजारसम्म तरकारी आइपुग्दा गिलो भइसकेको हुन्छ ।’

नेपालमा जनचेतनाको कमीका कारणले खाना खेर जाने विज्ञहरू बताउँछन् । यसका साथै कटान, भण्डारण, ढुवानी लगायत विषयमा ध्यान नदिँदा पनि खाद्यान्न खेर जाने उनीहरूको भनाइ छ ।

खाना खेर फाल्नु र नोक्सान हुनुमा के फरक छ ?
बर्सेनि एक व्यक्तिले सरदर ९३ किलो खानेकुरा घरबाट, फूड सर्भिस, खुद्रा लगायत क्षेत्रबाट उपभोग गरेर बढी भएको खाना फाल्ने गरेको कृषि अर्थविज्ञ डा. देवेन्द्र गौचन बताउँछन् । यसलाई खाना खेर फालेको भनेर बुझ्न सकिने उनको भनाइ छ ।

‘खाना खेर जानु भनेको उपभोगसँग, नोक्सान हुने उत्पादन, भण्डारण, प्रशोधनसँग जोडिएको छ,’ उनले भने, ‘उदाहरण लागि कालिमाटीको बजारमा तरकारी फालिनु भनेको नोक्सान हो ।’

कसरी जोगाउने खाना ?
नेपालमा खाना खेर जाने मुख्य कारण जनचेतनाको कमी रहेको विज्ञहरू बताउँछन् । व्यक्तिले यस्तो बानी सुधार गर्नुपर्ने कृषि अर्थविज्ञ डा. देवेन्द्र गौनले बताए । ‘बानीमा सुधार, जनचेतना अभिवृद्धि, भण्डारण प्रविधि अपनाउनु पर्‍यो,’ उनले भने, ‘चोट पटक लागेको फलफूल फाल्ने गरिन्छ, प्याकेजिङ, प्रोसेसिङ र खाने बानीमा जनचेतना अभिवृद्धि गर्नुपर्ने देखिन्छ ।’

खेर गएको खाना जोगाउनका लागि लगानी, अध्ययन बढाउनु पर्ने विज्ञहरूको सुझाव छ ।
यस्तै, डा. गौनले संस्थागत संरचना, नीतिगत संरचना, घर–घरमा खेर फाल्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उल्लेख गरे ।

यस्तै, कटानदेखि उपभोक्तासम्म खाना पुर्‍याउँदा नोक्सानी कम गर्न ध्यान दिनुपर्ने कृषि मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठले बताए । ‘बढी मात्रामा कहाँ नोक्सान हुन्छ, त्यो पत्ता लगाउने,’ उनले भने, ‘यसको साथै तथ्याङ्कको निकै ग्याप छ, त्यसका लागि बालियो रणनीति प्रयोग गर्नुपर्छ ।’

यस्तै, प्याकेजिङ, ढुवानी लगायतका विषयलाई ध्यान दिनुपर्ने डा. पौडेलले सुझाए । ‘अदुवा, आलु बजारमा माटोसहित आउने गरेको पाइएको छ,’ उनले भने, ‘त्यसलाई माटो झारेर, केही पखालेर ल्याउन सके नोक्सान हुनबाट जोगाउन सकिन्छ ।’

खेर गएको खाना जोगाउनका लागि लगानी, अध्ययन बढाउनु पर्ने विज्ञहरूको सुझाव छ ।

You might also like
Leave A Reply

Your email address will not be published.