यी ६ लक्षण देखापरेमा मानसिक शुद्धीकरणको आवश्यक छ भनेर बुझ्नुपर्छ ?

0

तन अर्थात् शरीरको बारेमा त हामी धेरै हेक्का राख्छौं । कुनै कुरा अपच भयो, विषाक्त भयो भने शरीरलाई शुद्धीकरण गर्नतर्फ लाग्छौं । उपवास बसेर हुन्छ वा खानपानमा सतर्कता अपनाएर शरीरमा रहेको विषाक्त पदार्थ हटाउने उपाय खोज्छौं । त्यसबाहेक अरु थुप्रै विधि छन्, जसले शरीरलाई शुद्धीकरण गर्छ ।

तर मनको शुद्धीकरण ?

मन पनि बेलाबखत विषाक्त हुनपुग्छ । चिन्ता, बेचैनी, उदासी, आवेग यसैको नतिजा हो । मनमा यसबेला अनेक खराब विचार आउने गर्छ । तनको रोगभन्दा कम पीडादायी हुँदैन मनको रोग पनि । त्यसैले जब मनमा नकारात्मक कुरा हाबी हुन्छ, तब बुझ्नुपर्छ कि मन शुद्धीकरण गर्ने बेला भयो ।

बारम्बार नकारात्मक सोच आएमा

कहिलेकाहीं मनमा धेरै नराम्रो कुरा मात्र खेल्न थाल्छ । उत्साह र आशा हराउँछ । ऊर्जा र जाँगर हराउँछ । इर्ष्या, घृणा र डर बढ्न थाल्छ । यस्तो स्थिति शारीरिक रोग वा कारणले मात्र नहुन सक्छ । बरु मानसिक कारणले हुनसक्छ । त्यसैले यस्तो अवस्थामा मनको शुद्धीकरण गर्न जरुरी छ ।

अति रिस उठ्न थालेमा

रिस उठ्नु आफैंमा समस्या होइन । यो हरेक प्राणीको प्राकृतिक स्वभाव हो । कुनै पनि कुरा चित्त नबुझ्दा हामीलाई रिस उठ्छ । रिसलाई मान्छेले आ–आफ्नो ढंगले व्यक्त गर्छन् वा प्रतिक्रिया जनाउँछन् ।

तर कारणबिना नै रिस उठ्न थाल्यो वा सानोतिनो निहुँमा झनक्क रिस उठ्न थाल्यो भने यो सामान्य होइन । यस्तो अवस्थामा हामीलाई धेरैजसो रिस उठिरहन्छ । त्यति मात्र होइन हाम्रो अवचेन मनले पनि रिस उठ्ने कारण खोजिरहेको हुन्छ । अर्थात् सामान्य वातारण छ भने पनि हामी केही न केही निहुँ निकालेर रिस व्यक्त गर्न थाल्छौं । यसले के बताउँछ भने हाम्रो मनलाई शुद्धीकरण गर्न जरुरी छ ।

हीनताबोध वा ग्लानि

कतिपय गल्ती, कमजोरीले गर्दा हाम्रो मनमा हीनताबोध हुन्छ । यतिबेला हामी आफूले आफैंलाई कमजोर र काम नगाल्ने सोचिरहेका हुन्छौं । अरुको सामुन्ने निर्धक्क प्रस्तुत हुन सकिरहेका हुँदैनौं । जस्तो परीक्षामा असफल भइयो, कुनै कुरामा बेइज्जती भयो भने हाम्रो मनलाई त्यसले विक्षिप्त बनाउँछ र ग्लानिभाव पैदा गर्छ । त्यस्तै कतिपय अपराध कर्मले पनि हामीलाई ग्लानिको स्थितिमा पुर्‍याउँछ । जबकि यो कुनै समस्याको समाधान होइन । ग्लानिभावले हामीलाई भित्रभित्रै नराम्ररी पिरोल्ने गर्छ । त्यसैले जतिसक्दो चाँडो यस्तो भावबाट बाहिर आउनुपर्छ । यसका लागि मनको शुद्धीकरण जरुरी हुन्छ ।

मानिसहरुसँग घुलमिल गर्नमा सकिएन भने

कतिपय अवस्थामा हामीलाई अरु मान्छेको सामुन्ने उभिन वा प्रस्तुत हुन गाह्रो हुन्छ । छरछिमेक, साथीभाइ, सहकर्मीको भीडमा जान असहज हुन थाल्छ । त्यति मात्र होइन, आफ्नै नातागोता, आफन्तकहाँ पनि हामीले सहज महसुस गर्न छाड्छौं । यसले के संकेत गर्छ भने भावनात्मक रुपमा हामी निकै कमजोर भइरहेका छौं । अतः यसका लागि मनको शुद्धीकरण जरुरी छ ।

थकान महसुस हुनु

सबैलाई काम हुने बेला कामको तनावले थकान महसुस हुन्छ । तर कुनै काम नै नगरेको अवस्थामा पनि थकान महसुस हुन्छ । हरेक समय थकान महसुस हुन्छ भने आफ्नो दिमागको ध्यान दिनुपर्ने हुन्छ । किनभने दिमागले धेरै सोच्नाले पनि दिमाग थाक्छ । जसकारण शारीरिक रुपमा पनि थकित महसुस हुन्छ । यस्तो अवस्थामा हामीलाई कुनै पनि काममा मन नलाग्ने र हरेक समयमा चिन्तित हुने गर्छ ।

मुड स्वीङ हुनु

यदि तपाईंको बारम्बार मुड स्वीङ हुने गर्छ भने यसलाई सामान्य रुपमा वा हेल्चेक्राइँ गर्नुहुँदैन । यस्तो अवस्थामा कहिले एक्कासि एकदम खुसी हुने र कहिले एकदम दु:खी हुन्छन् । मुड स्वीङको अवस्थामा के आफैं पनि थाहा हुँदैन । कतिपय अवस्थामा के कुराले खुसी दिन्छ र के कुराले दु:खी गराउँछ व्यक्ति आफैंलाई पनि थाहा पाउन सक्दैन । यस्तो अवस्थामा आफ्नो मानसिक शुद्धीकरण गर्न आवश्यक हुन्छ । किनभने मुड स्वीङ मानसिक तनावको कारणले पनि हुन्छ ।

मनलाई कसरी शुद्धीकरण गर्ने ?

मनलाई हलुंगो बनाउने सहज उपाय भनेको आफ्नो सबैभन्दा नजिकको मान्छेसँग बातचित गर्ने हो । आफ्नो मनको कुरा गर्न सकिन्छ वा आफूलाई मनपर्ने कुनै प्रसंगमा बातचित गर्न सकिन्छ । अरुसँग घुलमिल हुन नसकेपछि कोही न कोही त यस्ता व्यक्ति हुन्छन्, जोसँग हामी मनको कुरा गर्न सक्छौं ।

यसैगरी मनलाई शुद्धीकरण गर्ने सहज विधि भनेको आफूलाई मनोरन्जनमा बढी संलग्न गराउनु हो । रमाइलो फिल्म हेरेर हुन्छ वा पुस्तक पढेर वा संगीत सुनेर, मनलाई नकारात्मक भावबाट बाहिर निकाल्न सकिन्छ ।

यस्तै घुमफिर पनि एउटा राम्रो काइदा हो । यदि मन एकदमै भारी भयो, उदासी बढ्यो, ग्लानिभाव पैदा भयो भने केही समयको विश्राम लिएर कतै घुमफिरमा निस्कन सकिन्छ ।

त्यससँगै प्राणायाम एउटा सर्वोत्तम विधि हुनसक्छ । गहिरो सास लिने, छाड्ने प्रक्रियाले पनि मनलाई हल्का बनाउँछ । योग, ध्यान, व्यायामको सोझो सम्बन्ध मस्तिष्क र मनसँग हुन्छ । यस्ता शारीरिक क्रियालाई समुचित ढंगले गर्दा मनको विकारहरु हट्छ ।

You might also like
Leave A Reply

Your email address will not be published.