
- अर्घाखाँचीको छत्रदेवमा ट्र्याक्टर दुर्घटना हुँदा २२ वर्षीय सहचालक गणेश राजकोटी मगरको घटनास्थलमै मृत्यु भएको छ।
- ओरालोमा ब्रेक फेल भएर ट्र्याक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको र चालक घाइते भई उपचाररत छन्।
- दुर्घटनाका कारण एक मोटरसाइकलसमेत क्षतिग्रस्त भएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
केशव पन्थी, अर्घाखाँची ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३, मथुरा चापटारीमा भएको दर्दनाक ट्र्याक्टर दुर्घटनाले एक परिवारको खुसी खोसेको छ। उमेरले भर्खर २२ वर्ष पुगेका सहचालक गणेश राजकोटी मगरको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ भने ट्र्याक्टर चालक घाइते भएका छन्।
प्राप्त विवरणअनुसार, लु ४ त ९७१६ नम्बरको ट्र्याक्टरमा रोलर बोकेर यात्रा गरिरहेका दुई जनामध्ये सहचालक गणेश रासकोटी मगरले घटनास्थलमै ज्यान गुमाएका हुन्। पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२, सोमादीका निवासी मगरको असामयिक निधनले परिवारजन र आफन्तमा शोक छाएको छ।
दुर्घटनामा ट्र्याक्टर चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ निवासी पुन्यप्रसाद थारु घाइते भएका छन्। ओरालो सडकमा गुडिरहेको ट्र्याक्टरको ब्रेक फेल भएपछि दुर्घटना भएको बल्कोट प्रहरी इन्चार्ज दिवस दाहालले जानकारी दिनुभएको छ।
दुर्घटनापछि घाइते चालक थारुलाई बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचार गराइएको थियो। त्यसपछि थप उपचारका लागि उनलाई जिल्ला अस्पताल अर्घाखाँची लगिएको छ।
दुर्घटनाको प्रभाव ट्र्याक्टरमा मात्र सीमित रहेन। घटनाका प्रत्यक्षदर्शी सञ्जय पाण्डेले चलाएको लु ७२ प २०६३ नम्बरको मोटरसाइकलसमेत क्षतिग्रस्त भएको बताइएको छ। भर्खरै २२ वर्षको उमेरमा जीवन गुमाएका गणेशको मृत्युले फेरि एकपटक सडक सुरक्षाको गम्भीरता उजागर गरेको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
